मेरो जिन्दगीका कथा ✍️ भिम दोङ तामाङ

मेरो नाम भिम दोङ तामाङ

      काभ्रे पलन्चोक जिल्ला

      रोशी गाउँ पालिका वडा नम्बर 9 पिन्थली गाउँ हो मेरो जन्म घर जहाँ बचपन देखि खेले हुर्के बडे, अहिले मुक्लान परदेशी भएको छु

    हाल यूएईको रस अल खैमाहको एक बहुचर्चित इन्टरनेसनल कम्पनीमा कार्यारत छु ।

   अहिले कोरोनाले बिश्वलाई हल्लाउँदै रहेको अबस्थामा मलाई पनि अछुतो रहेछ । त्यसैको वरिपरि रहेर क्वारेन्टाइनको समयमा मनको वहा लेख्दै छु ।

     एक तमासको छ मन । किनकि आज धेरै समयपछि सम्झिने समय मिलेको छ । जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ । त्यसै अवसर कोरोनाले क्वारेन्टाइनमा बसाएर दिएको छ ।

    यो अवसरको सदुपयोग गर्दै आज जिन्दगीका पानाहरु पल्टाएर चिहाउने मौका मिलेको छ तर त्यहाँ नराम्रो अक्षरहरु देखेर मनमा छटपटी भएको भने होइन । लेखिएका कहानी धेरै सुनौलो होस् र वास्तविक जीवन कहाली लाग्दो होस्, पाना पल्टाउँदा सबैभन्दा दुःख लाग्दो कुरा यही हो । 

     कुनै समय साँच्चै आनन्द लाग्दो थियो, जहाँ सबै आफ्ना थिए र आफूमा कुनै किसिमको समस्या हुनुभन्दा पहिला नै त्यसको समाधान खोजिदिने मानिसहरु थिए, सायद त्यति बेलाको समस्या नै साना थिए होला, जुन जो कोहीले पनि समाधान गर्नसक्थ्यो । 

     के समस्याको आकारसँगै मेरो क्षमता विस्तार भएन त ? त्यो पनि होइन म विस्तार भएँ तर जसले समस्या समाधान गर्थे अहिले उनीहरुका लागि म नै समस्या बन्नपुगेको छु । आफ्ना मानिएका मानिसहरु पराइ भएका छन त्यसैले हिजोका सुनौला पानाहरु अहिले फिका बन्न पुगे । 

       कसैले बेवास्ता गरिरहेको छ भन्ने पनि थाहा छ, कसैलाई म मन परिरहेको छैन भन्ने पनि थाहा छ, म आफ्नो बाटोबाट विचलित हुँदै छु भन्ने पनि थाहा छ र हिँड्नुपर्ने बाटो कुन हो भन्ने पनि थाहा छ ।  तर समस्या थाहा नपाउनुको होइन, समस्या स्वीकार गर्न नसक्नु हो । कसैले तँ नराम्रो छस् भन्छ, भोलिपल्टदेखि ऐना हेर्न छाडिदिन्छु, कसैले तँ धेरै बोल्छन् अलि कम बोल्ने गर भन्छ, म सुनेको नसुनेझैं गरिदिन्छु, कहिलेकाँही हाकिमले काममा ध्यान दिन निर्देशन दिन्छन्, म जिन्दगीको मोल सोधिदिन्छु ।

      कसैको केही परवाह लाग्दैन तर जब मनले भन्छ, “तँ साह्रै अभागी रहेछस्”, साँच्चै डाँको छाडेर रुन मन लाग्छ तर आजसम्म त्यस्तो आत्मीयता कोहीसँग पनि पाएको छैन कि कसैको सामु धित मरुन्जेल रुन सकूँ । 

     अनि फेरि लाग्छ, हाँस्ने र खेल्ने बेलामा राम्रोसँग मुस्कुराएको भए, आँटेका काममा सफलता पाएको भए र दुःख लागेको बेलामा रुन पाउने भए त साँच्चै भाग्यमानी भइहाल्थें नि.......... । 

      दुःख होस् वा सुख ल्याएर थुपार्ने ठाउँ भएको मन, एउटा डस्बिन जस्तो । यहाँ फालिएका खुसीहरु सबै कुहिएर जान्छन् तर दुःखहरु प्लास्टिकजस्तै छन्, जो कहिल्यै कुहिँदैन र गल्दैन पनि समयसँगै त्यहाँ फालिएका दुःखहरु केही छोपिन्छन् तर त्यसलाई छोप्ने अर्को दुःखसँगै फेरि मन गह्रौँ नै हुन्छ, सधैंका लागि । धेरै मिहिनेत गरेर मनबाट दुःख निकाल्ने हो भने पनि आउने खुसीहरु केही समयका लागि मात्र हुन्छन् । 

     जिउ त भारी छैन तैपनि बसेको ठाउँबाट उठ्न फेरि किन गाह्रो ? कसैले सोध्दै थियो । मैले मौन उत्तर दिएँ, मेरो मनको भार नाप्ने हो भने सायद यो धर्तीको तौल फिका पर्न जान्छ, त्यसैले होला अहिलेसम्म कसैले यसको नापजाँच गर्ने हिम्मत गरेको छैन ।

      मन यति गह्रौँ छ कि यसको भार थाम्न नसकी पूरै जीवन ढलिसकेको छ तर सास फेर्न अझै छाडेको छैन । आफूले सजाएका सपनाहरु सबै खरानी भइसकेका छन् तर सम्झना त्यो सपना भन्दा पर छैन, अपेक्षाहरुले लात मारिसकेका छन् तर त्यसलाई अझै स्वीकार गर्न सकिएको छैन । 

     भन्छन् संसारलाई देखाउन सजिलो छ तर म आफ्नो मन देखाउन सक्दिन, मनका सबै पीडाहरु खुलस्त पार्न सक्दिनँ । सबैले सोच्छन् यसको त गज्जब चलिरहेको छ जीवन तर पूरै जिन्दगी ढलेको छ तर परिस्थिति अनुसार पूरै बल लगाएर अलिअलि घिस्रिरहेको छ ।

      साँच्चै मभित्रको जिन्दगी त्यो पर डाँडाबाट उदाउने घामजस्तै छ.... बिहानै उदाउँछ.....म सबेरै निस्की हिँड्छु....दिउँसो केही अजिव लाग्ने गरी चर्किन्छ.... मेरो मुटुको धड्कन केही बढी नै भइरहेको हुन्छ.....त्यसपछि सौर्यरश्मिसँगै लत्रिँदै लत्रिँदै त्यो पारि देखिने शिखर पछाडि लुकेझैँ..... बेलुकीको थकान र निद्रासँग फेरि सुनौला सपना देख्दै निदाउँछु ।

                वाह ! म भित्रको जिन्दगी !