हराउँदैन
पुरानो प्रेम
पुरानो याद, पुरानो क्षण।
पहिलो प्रेमको पहिलो बहार
पहिलो भेट, पहिलो उपहार।
बिलाउँदैनन्
गाढा बनेर बसेका
कसैका सम्झनाहरु।
कुनै दिन जब हिँड्नेछौ
पहिलोपल्ट सँगै पाइला टेकेको गोरेटो
घन्टौँ साथ बिताएका गल्लीहरुमा
याद आउनेछ
त्यो दिन सबै याद आउनेछ ।
सुन
माटोले गाएको गीत
सुन
गाउँले सुसेलेको सुस्केरा
सुन
पहाडमा गुञ्जीएको धुन
सुन
झरनाले बुनेको ताल
सुनी राख
देशले बोलेको आवाज ।
चाहे जतासुकै जाउ
या पुग संसारको पल्लो कुना ।
तिम्रा कानमा गुञ्जिरहे
पाखा पखेराका धुनहरु
तिमी
भुल्ने छैनौ देशलाई ।
सुन
अनि याद राख
याद आउनेछ
त्यो सबै सबै याद आउनेछ ।